फोन गर्दा दश र उठाउँदा पाँच रुपैयाँ प्रतिमिनेट

हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको प्रयोग त कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा संवाद हुन थालेको छ । तर, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन् ।

‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ । पालो कुरेर बस्छौँ,’ स्थानीय निमाछिरिङ तामाङले भने, ‘त्यो पनि दिउँसो घाम लागेका वेला मात्रै चल्छ । बिहान, बेलुका र राति त कत्ति पनि काम गर्दैन ।’

लिमीमा नेपाल टेलिकमको एउटा भिस्याट फोन छ । त्यसकै भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए । यहाँ ९० भन्दा बढी परिवार बस्छन् । उनीहरू सबैले दिउँसो पालो कुरेर भिस्याटबाटै फोन गर्दै आएको कोलाप्साङले बताए ।

मध्यपश्चिमाञ्चल लक्षित गरी सञ्चालनमा आएको हेलो नेपालले दुई वर्षअघि लिमीको हल्जी गाउँमा टावर राखेको थियो । तर, फोन सञ्चालन गरिएन । अहिले पनि टावर बन्द अवस्थामै रहेको छ । ‘कहिलेकाहीँ दिउँसो पनि काम गर्दैन, तुरुन्त खबर गर्नुपर्ने वेला गाह्रो हुन्छ,’ स्थानीय कोलाप्साङले भने ।

सञ्चार सहज बनाउने प्रयास गर्छौँ: मन्त्री रावल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले लिमी क्षेत्रमा सञ्चार सेवा सहज बनाउने प्रयास गर्ने बताए । ‘नेपाल टेलिकमसँग कुराकानी गरेर टेलिफोन सेवा सहज गर्ने प्रयास गर्छौँ,’ मन्त्री रावलले भने । तिहारभन्दा अगाडि नै समस्या समाधान गर्न पहल गर्ने मन्त्री रावलको भनाइ छ ।

फोन गर्दा र उठाउँदा शुल्क

लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । तीनै गाउँमा दुई सय ७५ परिवार बस्दै आएका छन् । तीनै गाउँमा एक–एक थान भिस्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ तिर्ने गरेको स्थानीय बासिन्दाले बताए । यहाँका बासिन्दाले फोन गरेको मात्रै होइन, ती सेटमा आफन्तको फोन आउँदा पनि पैसा तिर्नुपर्छ । ‘फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ र आएको फोन रिसिभ गर्दा प्रतिमिनेट पाँच रुपैयाँ तिर्नुपर्छ,’ स्थानीय निमाछिरिङले भने ।

प्रहरी पनि पालो कुर्छन्

लिमी क्षेत्रमा एउटा प्रहरी चौकी छ । तर, प्रहरी चौकीमा पनि सञ्चार उपकरण छैनन् । त्यसैले, उनीहरू पनि खबर आदानप्रदान गर्न यही भिस्याटको भर पर्छन् । स्थानीय बासिन्दासँगै पालो कुरेर फोन गर्दै आएका छन् । ‘सबैले पालो कुर्नुपर्छ, प्रहरीले पनि माथिल्लो निकायमा खबर टिपाउन पालो कुर्छन्,’ स्थानीय कोलाप्साङले भने ।

नयाँ पत्रिकाबाट

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.