नेतृत्वबाट कसरी हटाइए पुष्पलाल ?

 

नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठका बारेमा नेपालका कम्युनिस्ट घटकहरूकै मूल्यांकन फरक–फरक रहँदै आएका छन् ।

२४ वर्षको उमेरमा नेकपाको संस्थापक तथा महासचिव बनेका पुष्पलाल दुई वर्ष पुग्दानपुग्दै महासचिव पदबाट हटाइए । पुष्पलाललाई नेतृत्वबाट हटाउनु नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै एउटा यस्तो परिघटना बन्यो; जससँगै नेपाली कम्युनिस्ट आन्दोलनमा समेत सामन्तवादपरस्त संशोधनवादको औपचारिक प्रवेश हुन पुग्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा ऐतिहासिक घुम्ती (टर्निङ प्वाइन्ट) बन्न पुगेको यस परिघटनालाई धेरैजसो लेखक एवं कम्युनिस्ट आन्दोलनका खोजकर्ताहरू कसैले पनि उतिसारो महत्त्वका साथ लिएको पाइँदैन; नेतृत्व परिवर्तनको एउटा सामान्य घटना मात्र हो भनेर यसलाई विशेष महत्त्व दिइएको देखिँदैन । तर, यस घटनालाई यसरी सामान्यीकृत गरेर कम्युनिस्ट आन्दोनलको वास्तविक मर्ममा पुग्न सकिँदैन । पुष्पलाल एउटा व्यक्ति मात्र थिएनन्, उनी त एउटा आन्दोलन र त्यस आन्दोलनभित्रका क्रान्तिकारी प्रवृत्ति समेत थिए ।

वि.सं. २००८ सालको अन्त्यतिर पुष्पलाल श्रेष्ठलगायत चार जनाद्वारा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले वि.सं. २००८ कै पहिलो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा जनवर्गीय संगठनहरूको सञ्चाल, संयुक्त मोर्चा र एउटा राष्ट्रिय पार्टीको आकार ग्रहण गरिसकेको थियो । र, पुष्पलालकै नेतृत्वमा कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद हुनुका साथै नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा समेत प्रकाशति भई आफ्नै विशिष्टताका साथ नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढेको थियो ।

यति हुँदाहुँदै पनि वि.सं. २००८ को अन्त्य वा २००९ को सुरुतिरै पुष्पलाल महासचिवबाट हटाइए । महासचिवबाट उनलाई हटाउनुको कारण के हो ? यस विषयमा आज खोजी गर्नु भनेको असाध्यै कठिन विषय हो । स्वयं पुष्पलाल श्रेष्ठले यस विषयमा आफ्नो जीवनकालमा कतै पनि ठोस रूपमा उल्लेख गरेका छैनन् । तर, उनलाई अपदस्थ गरी आएको अर्को नेतृत्वले भने ‘तत्कालीन राजनीतिक परिवेशअनुसार पार्टीलाई क्रान्तिकारी दिशामा लगेनन्…’ भनेर उल्लेख गरेको पाइन्छ ।

‘नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ नामक पुस्तकमा तत्कालीन नेतृत्वप्रति लक्षित गर्दै कमरेड पुष्पलालले लेखेका छन्– “देशको राजनीतिक जीवनमा देशका सामन्तवर्गका नाइकेको राज र भारतीय सरकारको प्रमुखता बढ्दै गएको थियो । १९९६ सालको क्रान्तिको फलस्वरूप प्राप्त भएका केही राजनीतिक अधिकारहरूबाट पनि प्रगतिशील राजनीतिक व्यक्तिहरू वञ्चित हुनुपरेको थियो । यसका निम्ति केवल ‘राजा’ मान्ने तथा भारतीय सरकार मात्र दोषी नभई जनवादी पक्षको त्यो शक्ति पनि दोषी हुन्छ, जसले देशका राजनीतिक समस्याको सही समाधानको बाटो अपनाउनुको साटो सम्झौतापरस्त बाटो नै लियो ।” (पृ. ६३, ७४) ।

“केन्द्रीय नेतृत्वमा विवाद भएको र म नै सर्वसम्मत भएकाले महासचिव भएँ” भन्ने मनमोहन अधिकारीको भनाइ नेतृत्व परिवर्तनका सन्दर्भमा यदाकदा उद्धृत भएको पाइन्छ । तर, त्यस बखतका विवाद के हुन् भन्नेबारे चाहिँ उनले पनि विश्वसनीय ढंगबाट आफ्नो जीवनकालभर कतै पनि उल्लेख गरेको पाइँदैन ।

लेखक डिपी ढकाल

पुष्पलाल र मनमोहनकै समकालीन शम्भुराम श्रेष्ठले नेतृत्व परिवर्तनका सन्दर्भमा आफ्नो संस्मरणमा भनेका छन्– “म एक वर्ष नख्खु जेलभित्र रहँदा जेलभित्र र जेलबाहिर गरी चार वटा प्रिय–अप्रिय घटनाहरू घटेका थिए… जेलबाहिर घटेको पहिलो घटना थियो– पार्टीको राजनीतिक ब्युरोले क. मनमोहनको ‘ब्रेनशोषण’ गरी काम गर्‍यो भन्ने ‘आरोप’ मा क. पुष्पलाललाई महासचिव पदबाट हटाएर क. मनमोहन अधिकारीलाई त्यस पदमा आसिन गरायो अर्थात् पार्टीको महासचिव बनायो । यो झुट्टो आरोप थियो किनकि कमरेड पुष्पलाललाई मनमोहन अधिकारीको ‘ब्रेनशोषण’ गर्नुपर्ने आवश्यकता नै थिएन, क. पुष्पलाल उनीभन्दा धेरै योग्य थिए ।” (मेरो राजनीतिक जीवनका संस्मरणहरू, पृ. ९०–९१) ।

स्मरण रहोस्, त्यसबेला नेकपाको पहिलो राष्ट्रिय सम्मेलनद्वारा चुनिएको नेतृत्व क्रियाशील थियो; जसमा पुष्पलाल महासचिव थिए भने पोलिटब्युरो सदस्यहरूमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र डीपी अधिकारी तथा केन्द्रीय सदस्यहरूमा गौरीभक्त प्रधान, केदार खनाल, धनुषचन्द्र गौतम र शम्भुराम श्रेष्ठ गरी जम्मा ९ सदस्यीय केन्द्रीय समिति थियो ।

मनमोहन अधिकारीकै ‘ब्रेनशोषण’ को नाटक मञ्चन गरेर पुष्पलाललाई महासचिवबाट हटाइएको हो वा होइन भन्ने सवाल पनि आफैंमा विवादित हुन सक्छ र यथार्थता के हो, तथ्य अझै नभेटिन सक्छ । सम्मेलनले निर्वाचित गरेका महासचिवलाई हटाउने अधिकार पोलिटब्युरो बैठकले राख्दैन । त्यहाँ एउटा षड्यन्त्र निहित भएको सजिलै बुझ्न सकिन्छ । अर्कोतर्फ, कसैले पनि र कुनै पनि आधिकारिक दस्तावेजमा पुष्पलाललाई किन हटाइयो भन्ने कुराको उल्लेख नहुनुले ‘दाल में कुछ काला’ भएको पुष्टि हुन्छ ।

यस सवाललाई पुष्टि गर्न गाह्रो होला तर पनि शम्भुरामजस्ता तत्कालीन नेतृत्वले लेखेका कुरालाई ‘हावादारी’ वा ‘आग्रह–पूर्वाग्रह’ मात्र ठान्न सकिने आधारचाहिँ शम्भुरामको उक्त सिंगो पुस्तकको अध्ययन गर्दा देखिँदैन । पुष्पलालले किन नेपाल कम्युनिस्ट पार्टीका अरु संस्थापकहरू– निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलाश जोशीलाई पहिलो सम्मेलनबाट नेतृत्वमा राखेनन् ? जबकि उनीहरू पनि संस्थापक थिए अनि आधारभूत कम्युनिस्ट सिद्धान्त र विचारमा प्रतिबद्ध नै थिए ।

यी र यस्ता प्रश्न अबका लागि ज्यादै गह्रुँगा भएका छन् । पुष्पलाललाई नेतृत्वबाट हटाइएको परिघटना नै नेपाली कम्युनिस्ट आन्दोलनलाई दरबारपरस्त–भारतपरस्त बनाउने कामको पहिलो खुट्किलो थियो भन्ने तथ्य इतिहासले बारम्बार पुष्टि गरिसकेको छ ।

वि.सं. १९८१ मा रामेछापको भंगेरीमा जन्मेका पुष्पलाल श्रेष्ठको २०३५ साउन ७ मा भारत (वनारस) मा निधन भएको थियो । आज २०७५ साउन ७ मा उनको निधन भएको ठ्याक्कै ४० वर्ष पूरा भएको छ । पुष्पलाल श्रेष्ठको ४०औं स्मृतिका सन्दर्भमा डिपी ढकालको कृति ‘कम्युनिस्ट आन्दोलनका बहस’ बाट साभार गरी यो सामग्री प्रस्तुत गरेका हौं । – सम्पादक ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.