नयाँ मापदण्ड निर्माण गर्ने जिम्मा अध्यक्षद्धयलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण गर्न नयाँ मापदण्ड निर्माणको जिम्मा अध्यक्षद्धयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मापदण्डमा राखिएका कतिपय विषयमा नेताहरुविच नै विवाद श्रृजना भएपछि नेतृत्वलाई नै जिम्मेवारी दिएको हो । जसका कारण एकता प्रक्रिया केही दिन अझै लम्बिने भएको छ ।

दुई दिनसम्म चलेको सचिवालय बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले एकिकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरी दुई अध्यक्षलाई जिम्मा दिइएको श्रेष्ठको भनाई छ । दुवै अध्यक्षले शुक्रबार विहान छलफल गरेर सहमति जुटाउने बताइएको छ ।

बिहीबार अपराह्न सम्म ६ वटा प्रदेशले सचिवालयलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रदेश—२ ले भने राति अवेरसम्म पनि प्रतिवेदन बुझाएको छैन । नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन । पूर्व एमालेको माधवकुमार नेपाल पक्ष सिफारिसको विषयलाई लिएर बढी रुष्ट भएको बताइएको छ । यसअघि गरिएको सिफारिस कुनै मापदण्डमा आधारित नभएर व्यक्ति केन्द्रित भएको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

नेपाल पक्षको माग सम्वोधन गर्ने विषयमा अध्यक्षद्धयविच शुक्रबार विहान छलफल भएर सहमति जुटेपछि पुन बैठक बस्ने बताइएको छ । अध्यक्षविच सहमति जुटेपछि बैठकमा सो एजेण्डा आउने र एकतालाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । प्रदेश र जिल्ला एकताको लागि बनाइएका समितिहरूले आफ्ना प्रतिवेदन महासचिव विष्णु पौडेललाई दिएका थिए । पौडेलले उक्त प्रतिवेदनहरू बुधबार बसेको सचिवालय बैठकमा पेश गरिसक्नु भएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.