दाहाल गौतम गठबन्धन ओलीका लागि घाँडो

गएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग निर्वाचन हारेका नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको जिद्दी र प्रतिनिधिसभाको सदस्य नभई नछोड्ने उद्घोषका कारण काठमाडौ निर्वाचन क्षेत्र नं. ७ का निर्वाचित सांसद रामवीर मानन्धरले गौतमको लागि संसद पदबाट राजिनामा दिने भएका छन् ।

सांसद मानन्धरले पार्टीका अनुमतिमै सांसद पदबाट राजिनामा दिने भएका हुन् तर पार्टीले आजसम्म  सांसदका बारेमा केही बोलेको छैन । जनताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधि चुनेकोमा आफूलाई मत दिने जनताको विश्वासमाथि घात गर्दै कसैको लहडमा आएर सांसद पदबाट राजिनामा दिने भएपछि ७ नंं क्षेत्रका जनता भने आक्रोशित भएका छन् ।

केपी ओली प्रधानमन्त्री भएको आठ महिना पुग्नलाग्दा सांसद मानन्धरले सांसद पदबाट राजिनामा दिने भएपनि अहिलेकै अवस्थामा वामदव गौतमले निर्वाचन जितिहाल्छन् भन्न सकिने अवस्था छैन ।

ओली नेतृत्वको सरकारले आठ महिनामा जनताको लागि कुनै ठोस कार्य गर्न नसकिरहेको र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समेत उपलब्धीमूलक कार्य गर्न नसकेको हुनाले उपत्यकाबासी नेकपाको सरकार र महानगरका मेयरप्रति सन्तुष्ट हुन सकेका छैनन् वामदेव गौतमले आफू प्रतिनिधिसभामा पुग्न पार्टीलाई दबाब दिँदै आएका थिए ।

आफ्नो पार्टीबाट निर्वाचित भएको सांसदलाई राजिनामा गराउन गौतम र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न क्षेत्रका सांसदहरुलाई दबाब दिएपनि कसैले सांसद पदबाट राजिनामा दिन नमानेपछि अन्तिममा आएर रामबीर मानन्धरलाई राजिनामा गराउन उनीहरु सफल भएका छन् ।

वामदेव गौतम सत्ताको लागि मरिमेट्ने व्यक्ति भएका र उनलाई प्रतिनिधिसभाको सदस्य बनाउन सकेको खण्डमा नेकपाको आउँदो महाधिवेशनबाट आफूँ गौतमकै सहयोगमा अध्यक्षमा जित्ने रणनीतिका साथ पुष्पकमल दाहाल अघि बढेका छन् ।

केपी ओली नेतृत्वको सरकराले जनताको चाहनानुसार काम गर्न नसकेको उद्घोष दाहालले पटक पटक गरिसकेका र नेकपाभित्र पूर्व नेकपा एमालेको बढी प्रभुत्व भएकाले पनि दाहालले गौतमको साथ खोजेको हुन् ।

ओली नेतृत्वको सरकार विस्थापित गराएर गौतमलाई केही समयका लागि प्रधानमन्त्री बनाउन सकेको खण्डमा आफू अत्याधिक मतले अध्यक्ष पदमा विजयी हुने आकांक्षा दाहालले राखेका छन् ।

त्यसैको लागि दाहालले केही दिन पहिला अब सरकारको गियर फेर्ने उद्घोष समेतगरीसकेको हुनाले दाहालले गौतमलाई निर्वाचनमा जिताउनका लागि जस्तोसुकै हथकण्डाहरु अपनाउन सक्ने सम्भावना समेत रहेको छ ।

गौतम बर्दियाबाट चुनाव हारेको एक वर्ष नपुग्दै संसदमा आफू पुग्नैपर्ने भन्दै पार्टीलाई दबाब दिईरहेका थिए तर कुनै सासदले पद नछोडेपछि अन्तिम समयमा आएर उनी पुष्पकमल दाहालको शरणमा पुगेका थिए ।

रामवीर मानन्धरलाई सांसद पदबाट राजिनामा गराउन दाहालको महत्वपूर्ण भूमिका रहेको छ । रामवीर मानन्धरलाई डेढ वर्षपछि राष्ट्रिय सभाका नेकपाका केही सांसदहरुको पद रिक्त हुने र त्यही रिक्त पदमा मानन्धरलाई राष्ट्रिय सभाको सदस्य बनाईीदने आश्वासन गौतम र दाहालले दिएका हुनाले मानन्धर राजिनामा दिन सहमत भएका हुन् ।

नेकपाको सचिावल बैठकमा गौतमले आफूलाई प्रतिनिधिसभाको सदस्य बनाउने निर्णय गर्न दबाब दिँदै आएका भएपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले खासै चासो देखाएका थिएनन् तर पछिल्लो समयमा उनले समेत अर्का अध्यक्ष दाहाल र गौतमको दबाब थेग्न नसकेपछि सहमति जनाएका हुन् ।

सचिवालय बैठकले निर्वाचित सांसदलाई राजिनामा गराएर उपनिर्वाचनमा गौतमलाई बोक्नु जनताको अपमान हुने कुरा उठेपनि दाहालको दबाबमा गौतमको लागि ठाउँ खाली गराउने निर्णय गरिएको छ । गत मंसिरमा भएको प्रतिनिधिसभामा वाम गठबन्धनको जुन लहर थियो त्यो अहिले छैन ।

क्षेत्र नं. ७ काठमाडौ महानगरपालिकाका केही वडाहरु पर्दछन् ती सबै वडाहरुमा नेपाली कांग्रेसले जितेको हुनाले र सरकारको अनि महानगरपालिका प्रमुखको काम गराईले गर्दा जनता आक्रोशित भएको बेला गौतमले सहज रुपमा निर्वाचन जितिहाल्छन् भन्न सकिने अवस्था छैन ।

कांग्रेसले जितेका वडाहरुमा उनीहरुले राम्रो काम गरेका हुनाले वाम गठबन्धनका लागि त्यो टाउको दुखाईको विषय बन्न सक्छ । तर सत्ताको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर राज्यशक्तिको आडमा गौतमलाई निर्वाचित गराउन सक्ने सम्भावना समेत रहेको छ ।

निर्वाचनमा हारेका वा उनको गृह जिल्लाका जनताले नपत्याएका व्यक्तिलाई काठमाडौबाट निर्वाचन लड्ने उद्घोष गर्नु नै गलत नजिर बसाउने खेल हो । के पार्टीका वरिष्ठ नेताहरुले निर्वाचन हार्नु हुँदैन र ? के उनीहरु आजिवन सत्तामै बसिरहनुपर्दछ र ?

पार्टीका असली कार्यकर्ताहरुले अब टुरिष्ट उम्मेदवारलाई भन्दा आफँै गाउँ ठाउँ टोल छिमेकका व्यक्तिलाई निर्वाचित गराएको खण्डमा त्यस क्षेत्रको विकास हुन सक्छ ।

आफ्ना प्रतिनिधिहरुलाई जनताले सहज रुपमा भेट गर्न पाउँछन् आफ्ना समस्याहरुका बारेमा स्थानीय भएकाले राम्रोसँग बुझेका हुन्छन् तर टुरिष्ट उम्मेदवारहरुले पद हत्याउनैका लागि अनेक झुठा आश्वासनहरु दिने र पदमा पुगेपछि आफूलाई मतदान गर्ने जनतामा फर्किएर नजाने प्रवृत्ति देखिएकाले टुरिष्ट उम्मेदवारलाई जिताउनु त्यस क्षेत्रका जनताको लागि दुर्भाग्य हुनसक्छ ।

त्यसैले अब वाम गठबन्धनका बाहेक अन्य सबै दलहरु मिलेर काठमाडौको ७ नंं क्षेत्रमा एउटा मात्र साझा उम्मेदवार बनाएर उसैलाई जिताउन पहल गर्नु आवश्यक छ त्यसको नेतृत्व वा पहल नेपाली कांग्रेसले गर्नुपर्दछ ।

विगतको निर्वाचनमा रामवीर मानन्धरले राप्रपाका उम्मेदवार विक्रमबहादुर थापालाई ८ हजार मतले हराएका थिए मानन्धरले १८ हजार मत पाएका थिए भने थापाले १० हजार मत पाएका थिए तर अहिले त्यो पहिलाको अवस्था छैन । वाम गठबन्धनको सरकार दिनप्रतिदिन असफल सावित हुँदै गएको छ ।

मुलुकमा हत्या, हिंसा, बलात्कार अपहरण, महंगीजस्ता समस्याहरुको समाधान गर्न सरकार असफल सावित भएको छ । यी सबै कारणहरुले गर्दा केपी ओली नेतृत्वको सरकारको लोकप्रियता व्यापक ह्रास आएको हुनाले गौतमलाई निर्वाचन जित्न फलामको च्यूरा चपाउनुसरह हुन सक्छ । जनताले के भनेर टुरिष्ट उम्मेदवार गौतमलाई भोट दिने ?

आफ्नै गृह जिल्लाका जनताले नपत्याएका गौतमलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह हुन सक्छ । सत्ता र पैसाको भरमा मतदान गरेको खण्डमा आफैँलाई नोक्सानी हुने बाहेक अन्य केही हुन सक्दैन ।

निर्वाचन आयोगले संसदको पद खाली भएको ४५ दिनभित्रमा उपनिर्वाचन गराउनसक्ने सम्वैधानिक व्यवस्था भएको हुनाले मंसिरको पहिलो हप्तामा क्षेत्र नं. ७ काठमाडौमा उपनिर्वाचन हुन सक्छ त्यसैले अब सबै लोकतान्त्रिक पार्टीहरु एक भएर निर्वाचनको तयारीमा लाग्नु आवश्यक छ ।

निर्वाचित सांसदहरुलाई राजिनामा गराएर अर्का व्यक्तिलाई मत माग्नु आफैँमा अपराध हो, जनतामाथिको घात हो । के जनता भनेका भेडा बाख्रा हुन् जता लग्यो उतै हिड्ने ? जनताले गौतमलाई मत हाल्ने आधार के ?

वामदेव गौतमले चाहेको भए उनी पहिला नै राष्ट्रियसभाको सदस्य हुन सक्थे तर उनले राष्ट्रिय सभामा जान चाहेनन् त्यसको एउटै कारण हो प्रत्यक्ष निर्वाचित सांसदमात्र प्रधानमन्त्री बन्न सक्ने सम्वैधानिक व्यवस्था भएकाले उनी प्रधानमन्त्री बन्नकै लागि प्रत्यक्ष निर्वाचित हुन चाहेका हुन् ।

पछिल्लो समयमा गौतमले आफूलाई पार्टीभित्रैबाट ओली पक्षका नेता तथा कार्यकर्ताहरुले घात गरेर निर्वाचनमा हराएको आरोप लगाउँदै आएका थिए त्यही कारण उनी अहिले पुष्पकमल दाहाल नजिक पुगेका छन् ।

तत्कालिन नेकपा एमालेमा रहँदा गौतम ओली पक्षमा भएपनि निर्वाचनमा हार भएपछि उनी ओलीप्रति आक्रोशित हुँदै पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षमा पुगेपनि नेपालको समेत पार्टीमा कमजोर अवस्था रहेपछि उनी दाहालको शरणमा पुगेका हुन् ।

दाहालजस्ता धुर्त र सत्ताको नेतृत्व वा पार्टीको नेतृत्वविना एकपछिनपनि बस्न नसक्ने दाहालको प्रवृत्तिलाई गौतमले राम्ररी बुझेका हुनाले उनी दाहाल खेमामा पुगेका र तिनै दाहालको जोडबलमा उनले प्रत्यक्षतर्फ निर्वाचित भएका रामवीर मानन्धरलाई अनेक आश्वासन दिएर सांसदबाट राजिनामा दिलाउन सफल भएका मात्र छैनन् आफूप्रतिनिधिसभाको संसद हुँदै प्रधानमन्त्रीसम्म बन्न सक्ने सपनासमेत देख्न थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संयुक्त महाधिवेशन अबको डेढ वर्षभित्र हुने भएपछि आफ्नो पक्षमा मानिसहरुलाई प्रयोग गरेर उनले अध्यक्ष पदमा दाहाललाई जिताईदिने आश्वासनसमेत दाहालाई दिएका हुनाले अहिले दाहाल र गौतम पक्षको गठबन्धन बनेको छ ।

नेकपाको सचिवालयभित्रै निर्वाचित सांसदलाई राजिनामा गराएर गौतमलाई सीट खाली गराउनु नहुने आवाज उठेपनि त्यसलाई दाहालले अस्वीकार गर्दै गौतमजस्ता प्रभावशाली व्यक्ति संसदमा पुग्नैपर्ने जोडदार आवाज उठाएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।

आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप खेपिरहेका ओलीका लागि दाहाल र गौतम पक्षको गठबन्धन अनि माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरुको विरोधका कारण ओली कमजोर अवस्थामा पुग्न सक्ने सम्भावना बढेको छ ।

हत्या, हिंसा, बलात्कार, अपहरण, महंगीको मारले गर्दा जनता ओली सरकारसँग सन्तुष्ट हुन नसकिरहेको बेला भएको दाहाल गौतम गठबन्धनले गर्दा ओलीको लागि पार्टीभित्रैबाट अर्को चुनौती थपिएको छ ।

खास गरेर गत श्रावण १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्या भएपछि अपराधीहरु कानुनी दायरामा ल्याउन नसक्नु र महंगी, भ्रष्टाचारजस्ता कुराहरुलाई नियन्त्रण गर्न नसक्नुले ओलीको लोकप्रियतामा ह्रास आएको बेला बनेको दाहाल गौतम गठबन्धन प्रधानमन्त्री ओलीको लागि ठुलो समस्या बन्न सक्छ ।

त्यसैले अब प्रधानमन्त्री ओलीले आफ्नो सरकारको कार्यशैली फेरी जनताको हितमा काम गर्न सक्नुपर्दछ यदि त्यसो हुँदैन र अहिलेजस्तो अवस्थामा सरकार अघि बढ्ने हो भने ओली नेतृत्वको सरकारको आयु दिनगन्ती सुरु भएको भन्न हुने भएको छ । लेखक : अभियान साप्ताहिकका सम्पादक हुन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.