‘तीज’ अर्थात् महिलालाई ‘दोस्रो दर्जा’ मा राख्ने पर्व !

महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।

तीजका दिन पानी समेत नपिई, भोकै ब्रत बसेर ‘भगवान् शिव’ को पूजा–आराधना गर्नाले अविवाहित महिलाले चाहेको र असल श्रीमान् पाउने अनि विवाहितले ब्रत गर्दा श्रीमानको आयु लम्बिने अन्धविश्वास छ ।

परापूर्वकालमा ‘पार्वती’ ले तीजकै दिन ‘शिवजी पति पाऊँ’ भनी निराहार ब्रत बसेका कारण ‘शिवजी’ लाई नै पति पाएको किंबदन्तीअनुसार तीजका दिन महिलाहरुले ब्रत बस्ने गरेका छन् । यद्यपि पछिल्लो समय तीजविरुद्ध चर्का स्वरहरु पनि गुञ्जिइरहेका छन् । तीज मान्नेहरू सँगसँगै नमान्ने महिलाहरुको संख्या पनि ठूलो छ ।

तीजको ब्रत पितृसत्तात्मक समाजको उपज हो, मुलुकमा पितृसत्तात्मक सामाजिक प्रणाली विद्यमान छ भन्ने कुराको उदाहरण हो । तीजले पुरुषलाई नै ‘उपल्लो वरियता’ प्रदान गरेको छ, पुरुष नै ‘सर्वश्रेष्ठ’ र ‘महत्त्वपूर्ण’ व्यक्ति हो भन्ने सन्देश दिएको छ । अनि महिलालाई चाहिँ ‘कमजोर, सोझो, अस्तित्वहीन र गौण पात्र’ का रूपमा स्थापित गरेको छ ।

महिलाले तीजको ब्रत बस्नु पुरुषमा झन् अहमताको भावना विकास गराउनु हो भने महिलामा हिनताबोधको । किनभने, पुरुषको ‘लामो आयु’ का लागि महिलाले ब्रत बसिदिनु तर पुरुषले भने आफ्ना श्रीमतीलाई ब्रत बस्नुबाट रोक्नु यसैको उदाहरण हो ।

कुनै युगमा ‘पार्वती’ ले ‘शिवलाई पति पाऊँ’ भनी ब्रत बसिन् रे अनि ‘शिव’ नै पति पाइन् रे । के सत्य यही नै हो त ? पार्वतीले ब्रत बसेकै कारण शिव पति पाइन् या अन्य कुनै कारणले ? पार्वतीको त्याग देखेर मात्रै शिव प्रभावित भए या अरु कुनै कारणले ? यदि पार्वतीको ‘घोर तपस्या’ देखेरै शिव प्रशन्न भएका हुन् र पार्वतीको पति बन्न राजी भएका हुन् भने भने शिवको नियतमाथि चाहिँ प्रश्न उठाउनुपर्छ । उनी घुस्याहा मनोवृत्ति भएका, चाकरी रुचाउने व्यक्ति हुन् भन्नुपर्छ ।

मार्क्सवादी विचारक आन्टोनियो ग्राम्सीले भने झैं रहस्यको भरमा भ्रमको खेती गर्नेहरू असहाय र गरिबका मुख्य शत्रु हुन् । यसलाई चिर्न रहस्यहरूको पर्दाफास गर्नुपर्छ । रहस्य, रहस्यमै सीमित रह्यो भने अन्धविश्वासको जन्म त्यहींबाट हुन्छ । त्यसैले, कुनै पनि रहस्यको कारण, सम्बन्ध उदघाटन गर्न सकिएमा मात्र अन्धविश्वासविरुद्ध विजय हासिल गर्न सम्भव छ । र, परापूर्वकालमा ‘पार्वती’ ले ‘शिव’ लाई श्रीमान् पाउनका लागि ‘तपस्या’ गरेको र ‘शिव’ खुसी भई ‘पार्वती’ को श्रीमान् हुन तयार भएको तथ्यहीन कुरामा विश्वास गर्नुभन्दा बरु यो धर्तीका हजारौं दीन–दुःखी र हिंसाप्रभावित मान्छेहरुको न्यायका लागि अनसन (भोकै या ब्रत) बस्न तयार हुनुपर्छ । दण्डहीनता अन्त्यका लागि पहल गर्न राज्यलाई बाध्य पार्नुपर्छ ।

हिंस्रक र पीडक गुण कदापि मानवीय हुन सक्दैनन् । पुरुष अर्थात् श्रीमानहरुमा परानुभूति र संवेदनाको भाव हुनैपर्छ । विश्वासका नाममा विद्यमान यस्ता तर्कहीन अन्धविश्वासका पछि लागेर आफ्नो ‘आयु’ को कामना गर्दै ब्रत बस्ने श्रीमतीलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्‍याउने महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नेतर्फ श्रीमानहरु पनि लाग्नुपर्छ ।

अतः मानवजातिमा मात्र हुने परानुभूतिको भाव पुरुषले किन नदर्शाउने ? हामीले आफूलाई अरूजस्तै र अरूलाई आफूजस्तै किन नसोच्ने ? किन नबुझ्ने ? सामाजिक अन्धविश्वास, कुरीति तथा कुप्रथालाई हटार्इ सबै मानवअधिकार सबैका लागि र सधैंका लागि प्रत्याभूत तथा सुनिश्चित गर्न हामी सबै एकजुट भएर अभियानरत हुनुको विकल्प छैन । यो नै समयको माग हो ।

साभारः महिला खबरको सम्पादकीय

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.