‘ठूला नेता’ कै नाम पोलिएपछि ‘३३ किलो सुनकाण्ड’ मा ‘पूर्णविराम’ !

 

सुन तस्करीबारे छानविन गर्न बनेको समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो ।

अहिलेसम्म उक्त प्रतिवेदनबारे चाइँचुइँ भएको छैन । करिव तीन महिनासम्म देशको चर्चित प्रमुख खबर सोही उक्त सुनकाण्ड बनेको थियो । तर, सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका केही उच्च तहका नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ ।

समितिले प्रतिवेदनमा अझै ३ सयभन्दा धेरै जनामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको कुरा सार्वजनिकएको थियो । अनुसन्धान गर्दै जाँदा केही चर्चित राजनीतिक व्यक्तिहरु समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।

टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्रै मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्‍याईकनै पूर्णविराम लगाइदिने चलखेल भएको समाचार स्रोतको दाबी छ । आफूहरु ‘ठूला माछाको नजिक पुगेको’ बारम्बार बताइरहने गृहमन्त्री रामबहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् ।

स्रोतका अनुसार, सुन काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषयलाई गुमनाम पार्न खोजिएको हो । कमिसनमा आफूले केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको पोद्दारले बताएपछि अनुसन्धान झन् सुस्ताएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.