जो जीवनका २७ वर्ष दौडिए

खेलाडीको सबैभन्दा ठूलो चाहना आफ्नो
विधामा विश्व रेकर्ड कायम गर्नु हुन्छ । रेकर्ड राख्नु आफैँमा दुर्लभ हो । जुम्लाका डाँडापाखाबाट दौडयात्रा सुरु गरेका हरिबहादुर रोकायाले एथलेटिक्समा दुर्लभ उपलब्धि हासिल गरे । धेरैले नपत्याउन सक्लान्, ५७ वर्षीय रोकायाले जीवनका २७ वर्ष दौडिएरै बिताए । रोकायाले अन्य नेपाली खेलाडीले नपाएको दुर्लभ सफलता हात पारेका छन् । उनले विश्वकै अग्लो उचाइमा हुने एभरेस्ट म्याराथन दौडमा सबैभन्दा छिटो टाइमिङ निकाल्दै विश्व कीर्तिमान राखेका छन् । खेलजीवनका अनेक आरोह र अवरोहबारे रोकाया नयाँ पत्रिकासँग यसरी खुले :

त्यो क्षण ……
हरिबहादुर रोकाया, विश्व रेकर्डधारी, धावक

आधा जीवन दौडमै
सानैदेखि उनी दौडिए । त्यतिवेला जुम्लामा कोही दौडियो भने कतै झगडा भएको लख काटिन्थ्यो । रोकायाकै भनाइ मान्ने हो भने उनी जुम्लामा ‘एक पागल’ बने किनकि उनी दौडिएको देखर मान्छेहरूले अनेकन लख काट्थे । उनको रुचिलाई तत्काल धेरैले मन पराएनन् । तर, अहिले रोकाय नेपालकै स्थापित धावकका रूपमा परिचित छन् । उनकोे पदचाप पक्रँदै अहिले पनि जुम्लाबाट धेरै धावकले बाटो पछ्याएका छन् ।

उनी जुम्लाका मात्र नभएर देशकै सान बनेका छन् । रोकाया जीवनका करिब २७ वर्ष डाँडापाखा, भिर–पहरा, हिमाल, तराई सबै–सबै दौडिए । यसैकारण उनले ढुंगो र माटोसँग आफ्नो पाइलाको सम्बन्ध मजबुत बनाए । कहिलेबाट दौडिए रोकाया ? उनी भन्छन्, ‘स्कुलस्तरमा जब एक टुर्नामेन्टमा उपाधि जितेँ, त्यसपछि करिअरमा दौडेर पनि केही गर्न सकिने रहेछ भन्ने लाग्यो, अझ पुरस्कारपछिको उत्साहले मलाई निरन्तर दौडाइरह्यो ।’ तत्कालीन वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा लगातारको मेडलले उनी झनै उत्साहित भए । राष्ट्रिय प्रतियोगिताअघि उनी स्कुलस्तरमै ५–६ वर्ष दौडिए ।

०४६ मा बहुदल आएको समयमा हामी बार्सिलोना ओलम्पिकमा सहभागिता जनाएर नेपाल फर्किएका थियौँ, काठमाडौंमा उत्रँदा खेलाडीको ठूलो सम्मान होला भन्ने आशा थियो, तर उत्रिएकै दिन थाहा भयो, राष्ट्रिय खेलकुद  परिषद्को सहायक प्रशिक्षकबाट निकालिएछ
पहिलोपटक काठमाडौं
०३९ मा काठमाडौंमा जुनियर च्याम्पियनसिप खेल्न जुम्लाबाट काठमाडौं झरे । जुम्लाबाट प्लेनको यात्रा गर्दै नेपालगन्ज उत्रिए । पहिलोपटक तराईको गर्मीमा झरेका उनको जीवनमा धेरै कुरा पहिलोपटक भए । पहिलोपटक गाडी देखेका रोकायाले तत्कालीन समय सम्झँदै भने, ‘पहिलोपटक नेपालगन्जमा झरेर गाडी देखेँ ।

कृष्णनगरबाट गाडी चढेँ, काठमाडौं उत्रिएँ ।’ उनलाई अचम्म लाग्यो, काठमाडौंको माहोल र वातावरण बिल्कुलै फरक । उनी जे उद्देश्यका लागि काठमाडौं आएका थिए, त्यसमा लागिहाले । उनी दौडिए देशभरका प्रतिस्पर्धीमध्ये पहिलो सहभागितामै चौथो बने ।

आफ्नो प्रशिक्षक आफैँ
जतिवेला प्रशिक्षक कोही हुँदैनथे, आफ्नो इच्छा र त्याग नै महत्वपूर्ण हुन्थ्यो । थकानले लखतरान ज्यान नबिसाई लक्ष्य ठूलो राखेर उनी दौडिरहे । काठमाडौंमा दुईपटक तथा ०४१ मा दाङमा भएको एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा ५ हजार र १५ सय मिटरमा दौडिएर स्वर्ण जिते । त्यसपछि उनको जीवन झन् दौडबाट अलग हुनै सकेन ।

०४२ मा राष्ट्रिय प्रतियोगितामा पनि उनले आफूलाई स्थापित गर्दै लगे । बिस्तारै उनलाई अरूले भेट्टाउन नसक्ने भए । रोकायाले ५९ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए । कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा उनले नेपाललाई कांस्य दिलाए । ‘त्यसपछिका साफहरूमा पनि मेरो सहभागिता रह्यो,’ ३१ वर्षअघिको घटना सम्झँदै रोकाया भन्छन् ।

कोलम्बो सागबाट मोडिएको जीवन
सन् १९९१ को कोलम्बो सागमा रोकाया करिअरमा सर्वाधिक मिहिनेत गरे पनि सोचेजस्तो भएन । रोकाया भन्छन्, ‘मैले जीवनमा धेरै मिहिनेत गरेको नै कोलम्बो सागको तयारी थियो । म्याराथनमा गोल्ड जित्ने महत्वाकांक्षा थियो, तर त्यसवेला राजनीति गरेर मलाई प्रतियोगितामा सहभागी गराइएन ।

जीवनमा पहिलोपटक खेलाडी भएकोमा ठूलो पछुतो लाग्यो ।’ त्यसपछि उनले जीवनमा नयाँ अध्यायको सुरुवात गरे । विश्वचर्चित एभरेस्ट म्याराथनतर्फ आफ्नो ध्यान केन्द्रित गरे । जहाँ उनी पहिलो र दोस्रो संस्करणमा दोस्रो र त्यसपछि लगातार पहिलो बने । उनी एभरेस्ट म्याराथनमा ६ संस्करणसम्म दौडिए ।

उनको नाममा एभरेस्ट म्याराथनमा छिटो दौड पूरा गर्ने विश्व कीर्तिमान छ । सन् १९९९ को संस्करणमा उनले ३ घन्टा ५६ मिनेट १० सेकेन्डमा पूरा गर्दै पहिलोपटक गिनिज बुकमा आफ्नो नाम लेखाए । सन् २००० मा समय सुधार गर्दै उनले ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा नयाँ विश्वकीर्तिमान बनाए ।

ओलम्पिक यात्रा
रोकायाले सिओल र बार्सिलोना ओलम्पिकमा सहभागिता जनाए । यसैगरी, उनले दुईपटक नै एसियन गेममा पनि आफ्नो उपस्थिति जनाए । ओलम्पिकमा छनोट हुन एक निश्चित समयमा दौड पूरा गर्नुपथ्र्यो, जुन रोकायाले गरे । २ घन्टा २४ मिनेट टाइमिङका साथ उनले बार्सिलोनाको टिकट पक्का गरे । उनी भन्छन्, ‘बार्सिलोनामा एकदम गर्मी थियो । त्यसले गर्दा मेरो जिउ पूरै पाकेको थियो ।’ औषधि खाएर पनि उनले बार्सिलोना ओलम्पिकमा दूरी पूरा गरे । त्यसवेला दूरी पूरा गर्नु नै ठूलो उपलब्धि हुन्थ्यो, जसमा रोकाया सफल भए । उनले सियोल ओलम्पिकमा पनि दौड पूरा गरे ।

जुम्लाबाट रारा पुगेर बेलुका जुम्ला नै
एभरेस्ट म्याराथनको तयारीका क्रममा रोकायाले मिहिनेत गरेको सुन्दा वा देख्दा धेरैको आङ जिरिंङ हुन्छ । उनी भन्छन्, ‘बिहान ५ बजे जुम्ला बजारबाट निस्किएर रारा पुगेर बेलुका ८ बजे पुनः घरै आइपुगेँ ।’ उनले जाँदा ४२ किमि र आउँदा ४७ किमि दौड लगाए । एभेरेस्ट म्याराथन सम्झँदै उनी भन्छन्, ‘त्यो समयमा बाटोमा आइसका लप्काहरू हुन्थे, चिप्लियो भने गयो । तर, अहिले आइस जम्दैन । त्यसवेला बाटोमा सबै आइस हुन्थ्यो । छामेर र सोचेर मात्र दौडनुपथ्र्यो । अहिले एभरेस्ट म्याराथनको बाटो फरक र सहज बनेको छ ।’

बहुदलले जागिर खायो
बार्सिलोना ओलम्पिकमा सहभागिता जनाएर रोकाया स्वदेश फर्किए । त्यसवेला उनलाई राज्यले सम्मान होइन, अपमानको घाउ दियो । ‘हामी बार्सिलोना ओलम्पिकमा सहभागिता जनाएर नेपाल फर्कंदा अब खेलाडीको सम्मान होला भन्ने ठूलो आशासहित काठमाडौं उत्रियौँ तर राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकबाट मण्डलेको आरोपमा निकालिएछ,’ रोकाया भन्छन्, ‘दौडेर देशका लागि पदक ल्याउन मरिहत्ते गरेर लागिन्थ्यो ।

केको राजनीति ? कस्तो राजनीति ? तर राजनीतिक कारण देखाएर जागिरबाट निकालियो ।’ जागिरबाट निकालिएपछि उनी धर्मसंकटमा परे । पेट पाल्नुपर्ने चटारो, अर्कोतिर दौडिने भोक । त्यसछि उनले यात्रा सुरु गरे, रातभरि वाइरिङको काम, दिउँसो ट्रेनिङ । ‘जीवनमा ठूलो स्ट्रगल हो त्यो, रातभर नसुती वाइरिङको काम गरिन्थ्यो र दिउँसो ट्रेनिङ गर्न रंगशाला पुग्थेँ,’ रोकाया भन्छन् । ०५४ मा केशव स्थापित सदस्य–सचिव भएपछि उनको पुनर्बहाली भयो । ‘स्थापित खेलकुद बुझेका मान्छे थिए,’ रोकायाले गुन सम्झिए । सन् २००३ मा उनले करिअरको अन्त गरे पनि दौडलाई निरन्तरता दिए । पहिला जित्नका लागि दौडन्थे, अहिले जिताउन दौडन्छन् ।

रोकायाले हाई अल्टिच्युडमा हुने एभरेस्ट म्याराथनमा छिटो दौड पूरा गर्ने विश्व कीर्तिमान बनाए । ४२ किमि दौड ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा पूरा गर्दै उनले गिनिज बुक अफ वल्र्ड  रेकर्डमा नाम लेखाए ।
पछिल्लो समय दिग्दार
आफ्नो २७ वर्ष लामो करिअरमा उनले कहिले पनि राज्यसँग माग गरेनन् । दौडिरहे, सकेको पदक देशलाई दिलाए, अन्तर्राष्ट्रियस्तरमा देशको झन्डा फहराए । तर, प्रशिक्षणका दौरान अप्रत्याशित बिरामी परेपछि उनलाई खेल जीवनको आदर्शप्रति वितृष्णा जाग्यो । उनी भन्छन्, ‘जीवनमा मैले खेलाडीलाई प्रशिक्षणका क्रममा सधैँ भन्थेँ– खेल्दै गर्दा तिमीलाई राज्यले हेर्छ, तिमीहरूको काम देशको नाम र झन्डा फहराउने हो । तर, अब मेरो त्यो आवाज खोसिएको छ ।’ रोकायालाई अहिले आफूले भन्ने गरेको कुरा गलत लाग्छ ।

परेका वेला राज्यले बेवास्ता गर्दोरहेछ । गत साउनमा उनी प्रशिक्षणकै क्रममा मसल नचलेर महँगो उपचार गराउँदा पनि राज्यले केही गरेन । उनी भन्छन्, ‘मेरो परिवार सक्षम नभएको भए म कुँजिएरै मर्ने थिएँ । अब मैले कसरी खेलाडीलाई दौडका लागि मात्र सोच भन्न सक्छु ।’ रोकाया १६ दिन अस्पताल रहँदा ५ दिन आइसियूमा बसे । डाक्टरले उनलाई ३ देखि ६ महिनाभित्र रिकभरी हुन्छ भनेका छन् । डाक्टरको निगरानीमा रहेका रोकायाले धर्म निर्वाह गरिरहेका छन् । फोनबाटै खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । उनलाई चाँडो जुम्ला पुग्न मन छ । रोकायालाई अहिले पनि लाग्छ– आफूजतिको मिहिनेत गर्ने खेलाडी अहिले हुने हो भने एसियाली खेलकुदमै मेडल जित्न सक्छ ।

अब्बल प्रशिक्षक
रोकाया खेलाडीलाई निरन्तर अभ्यास गराइरहेका छन् । खेलाडीले उनलाई सन्तुष्टि दिइ नै रहेका छन् । क्षेत्रीयदेखि अन्तर्राष्ट्रियस्तरका खेलसम्म उनको प्रशिक्षणमा खेलाडीले कुनै न कुनै मेडल ल्याइरहेका छन् । उनले प्रशिक्षण गराएका १४ मध्ये १३ खेलाडीले क्षेत्रीयस्तरको प्रतियोगितामा मेडल ल्याए । उनी ठोकुवा गर्छन्, ‘मैले भनेअनुसार राज्यले व्यवस्था गर्ने हो भने चीन एसियाडमा नेपालले एथलेटिक्समा नयाँ फड्को मार्छ । तर, अहिलेबाटै तयारी गर्नुपर्छ । अन्तिम २ महिनाको तयारीले फेरि पनि राज्यको पैसा मात्र सकिने हो ।’

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.