‘चिँ मुसी चिँ’ ले बन्ला त अलिसाको करियर

अभिनेत्री अलिसा शर्माले चलचित्र ‘चिँ मुसी चिँ’ बाट आफु अभिनयमा स्थापित हुने बताएकी छन् । ‘चिँ मुसी चिँ’ मेरो डेब्यु चलचित्र हो’ उनले भनिन्– ‘कथा निकै राम्रो भएकोले चलचित्रले व्यवसाय गर्छ ।’ बलिउडमा संघर्षपछि कलिउड भित्रिएकी शर्माले फरक कथा पस्किएको यो चलचित्र दर्शकले रुचाउने र आफ्नो करियर बनाउने दाबी गरिन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा अभिनेता सुनिल क्षेत्री, सुशान्त कार्की र निर्देशक दिनेश श्रेष्ठको साथ उपस्थित उनले मोफसलको टुरमा दर्शकले चलचित्रप्रति धेरै चासो देखाएको सुनाइन् । चलचित्र युनिट विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली लगायतको सांगीतिक टुरपछि भर्खर काठमाडौं फर्किएको हो । टुरमा अभिनेत्री शर्माले धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन् ।

साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको म्यूजिकल थ्रिलर जनरामा निर्मित ‘चिँ मुसी चिँ’ आफुले अहिलेसम्म अभिनय गरेको चलचित्रभन्दा धेरै फरक रहेको अभिनेता सुशान्त कार्कीले बताए । ‘मैले एक से एक एक्सन गरेको छु’ उनले भने ‘प्रेमकथा र अन्य बिषयबस्तु पनि चलचित्रको राम्रा नै छन् ।’

अभिनेता सुनिल क्षेत्रीले ‘चिँ मुसी चिँ’बाट दर्शकले बलिउड चलचित्रझै मज्जा लिनन पाउने बताए । ‘मैले अभिनय गरेको चलचित्र भएर मात्र भनेको होइन’ सुनिलले भने ‘चलचित्र नै राम्रो बनेको छ ।’ सुनिल पनि बलिउड डान्स सोबाट कलिउड भित्रिएका हुन् । चलचित्र अभिनय अगाडि उनले थुप्रै म्युजिक भिडियो अभिनय र निर्देशन गरेका छन् ।

टुरमा दर्शकको चलचित्रप्रति राम्रो चासो देखाएको निर्देशक श्रेष्ठले बताए । ‘मोफसलका प्रमुख शहरमा हामीले सफलतापूर्वक कन्सर्ट सकेर राजधानी फर्कियौ । दर्शकले चलचित्र हेर्न आँतुर रहेको प्रतिक्रियाले हामीलाई ठूलो उर्जा मिलेको छ’ श्रेष्ठले भने–‘चलचित्र सफल हुन्छ, हुन्छ ।’ निर्देशक श्रेष्ठले यस अगाडि अभिनेता राजेश हमालाई महिलाको भूमिकामा उतारेर चलचित्र ‘शकुन्तला’ बनाएका थिए । चलचित्रले चर्चा बटुले पनि व्यवसाय भने गर्न सकेन ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’को कार्यकारी निर्मातामा शिवराज कार्की हुन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् । सुनिल, सुशान्त र अलिशाको अलवा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.