गुण्डा नाईकेलाई इन्काउन्टर गर्ने काठमाण्डौका प्रहरीको “हप्ता असुली” धन्दा

हप्ता असुली, गुण्डागर्दी गर्ने गुण्डा नाईके (डन)हरुलाई इन्काउन्टर गर्ने काठमाण्डौ प्रहरी आफैले लामो समयदेखि अवैध तरीकाले हप्ता असुली गर्ने गरेको रहस्य खुलेको छ ।  राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गरेको रहस्य खुलेको हो ।

शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।

पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । पछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।

त्यसो त ३ वर्षअघिदेखि अख्तियारले उनलाई पिछा गरेको थियो । चापागाउँ वृत्तमा हुँदा उनलाई पक्राउ गर्न आयोगबाट प्रहरी टोली खटिएको थियो । तर, उनले आयोगको टोलीलाई नै छक्याएर घुस लिएका थिए । बौद्धमा पनि उनीविरुद्ध धेरै उजुरी आएको आयोगका एक अधिकारीले बताए । चतुर तरिकाले घुस लिने भएकाले उनी पक्राउ परेका थिएनन् । अख्तियारले पिछा गरेको ३ वर्षपछि उनी पक्राउ परेका छन् ।

भट्टीदेखि हुन्डीसम्म हप्ता असुली 
प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउने गर्छन् । भट्टी चलाउनेदेखि हुन्डीको कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन् । कतिपय अवस्थामा बेलुका ढिलासम्म प्रहरीले रेस्टुरेन्ट तथा डान्सबार खोल्न दिएर पैसा लिने गरेको छ ।

कतिपय होटेलमा वेश्यावृत्ति हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरीले संरक्षण गरेर समेत पैसा लिने गरेको छ । हुन्डी तथा डलरको अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिने गरेको छ । कतिपय प्रहरी त गुन्डागर्दीमा संलग्नसँग समेत मिल्ने गर्छन् ।

यस्तै ठाउँबाट पैसा लिनका लागि वृत्त तथा प्रभागका प्रमुखहरू आफूनिकट प्रहरीलाई घुमुवाका रूपमा राख्ने गर्छन् । सबैजसो वृत्तमा अपराध अनुसन्धानका लागि अपराध महाशाखाको शाखा भए पनि वृत्तले छुट्टै घुमुवा टोली परिचालन गर्दै आएको छ । महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले उपत्यकाका प्रभाग तथा वृत्तका प्रहरीहरू निगरानीमा रहेको र गलत गर्नेलाई कारबाही गर्दै आएको बताए ।

यस्तै, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उजुरी बढेपछि आन्तरिक शुद्धीकरणलाई तीब्रता दिएको बताए । सोही क्रममा परिसरको टोलीले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीका एक प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घुस खाएको उजुरी परेपछि ती अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ ।

बदनाम ‘लाइन’
उपत्यकाका महानगरीय प्रहरी वृत्त तथा प्रभागलाई ‘लाइन’का कार्यालय भनेर चिनिन्छ । ‘लाइन’मा सरुवा हुन प्रहरीमा ठूलो सोर्सफोर्स चल्दछ । ठूला नेता, प्रहरी प्रमुखनिकटका व्यक्ति उपत्यकाका वृत्त तथा प्रभागमा इन्चार्ज भएर सरुवा हुन्छन् । किन यति धेरै सोर्सफोर्स चल्छ ? जब कि, अन्यत्रभन्दा उपत्यकाका कार्यालयमा बढी खटिनुपर्छ । किनकि, ती कार्यालयमा अतिरिक्त आम्दानी हुन्छ ।

गोप्य रूपमा अवैध धन्दा गर्नेहरूले प्रहरीलाई हप्ता तथा महिनामा नियमित पैसा बुझाउँछन् । यही कारण लाइनका कार्यालयमा प्रहरीको आकर्षण छ । यसअघि पनि उपत्यकाका वृत्त तथा लाइनका प्रहरी पटक–पटक घुससहित पक्राउ परेका छन् । यसले उपत्यका वृत्त तथा प्रभागमा हुने आर्थिक चलखेल प्रस्ट हुन्छ ।

प्रहरी पक्राउका शृंखला
३१ भदौमा एकैपटक कोटेश्वर, काँडाघारी तथा नयाँठिमी प्रभागका ९ प्रहरी घुससहित पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा थप २ प्रहरीले ‘लाइन मिलाएर’ पैसा लिने गरेको खुल्यो । सइ गोविन्द खरेल, ज्योति विष्ट, असइहरू गोपाल श्रेष्ठ र सुवास ढुंगाना, प्रहरी हवल्दारहरू उमेशलाल यादव, अमन चौधरी र दीपक भारती तथा प्रहरी जवानहरू मुकेशकुमार पटेल, दीपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल पक्राउ परेका थिए । उनीहरूले पनि बालुवा व्यापारीसँग मासिक पैसा लिने गरेका थिए ।

५ मंसिरमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परे । उनी ठूलै नेताको सोर्सफोर्स लगाएर त्यहाँ सरुवा भएका थिए । नयाँबसपार्क क्षेत्रका होटेल तथा लजसँग मासिक लिने दररेट उनले बढाएका थिए । असन्तुष्ट बनेका स्थानीय एक लजका सञ्चालकले अख्तियारलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए ।

गतवर्ष असोजमा बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी तथा असइ चन्द्रसिंह भाट पक्राउ परेका थिए । उनले नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ५ लाख रुपैयाँ घुस लिएर छाडेको अनुसन्धानमा खुल्यो ।

त्यस्तै, बानेश्वर वृत्तका डिएसपी रमेश तामाङ जग्गा विवादमा सहयोग गरिदिने भन्दै घुस लिँदा पक्राउ परे । ८ माघ ०७१ मा उनी ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । १२ साउन ०६९ मा थानकोट वृत्तका डिएसपी तेजेन्द्र पौडेल ३५ हजार घुससहित पक्राउ परेका थिए । साभार नया पत्रिका दैनिक

 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.