गण्डकी प्रदेशमा बाढीपहिरोबाट ठूलो धनजनको क्षति

भीषण वर्षापछि आएको बाढी र पहिरोले म्याग्दीका विभिन्न ठाउँमा ठूलो भौतिक क्षति पु-याएको छ । रघुगंगा गाउँपालिका–८ छरीदेखि माथि पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको भीषण बाढीले घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयका दुईवटा भवन बगाएको छ । भवन बगाएपछि विद्यालयको पठनपाठन प्रभावित बनेको वडाध्यक्ष गमान छन्त्यालले बताए ।

लमजुङमा चारको मृत्यु
मर्स्याङ्दी गाउँपालिका– ३ अर्खलेमा बुधबार दिउँसो पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहीबार बिहान फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । पहिरोमा परी बेपत्ता भएकी मर्स्याङ्दी गाउँपालिका–३ अर्खलेबसीकी ७० वर्षीया ललितमाया गुुरुङको शव फेला परेको छ । मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीकी ६० वर्षीया अभिरूपा थापा, उनकी १० वर्षीया नातिनी शिरीषा, मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरकी विष्णुकुमारी गुरुङ रहेका छन् ।

बेसीसहर नगरपालिका–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मर्स्याङ्दीको भेलले बगाएको हो । उनीहरू बर्दिया जिल्ला ठाकुरद्वारा नगरपालिकावासी हुन् । यस्तै, मर्स्याङ्दी गाउँपालिका ४ नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रो खोलामा आएको बाढीमा बेपत्ता भएका छन् ।

पर्वतको बारीबेनी बजार जोखिममा
कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको बारीबेनी बजार जोखिममा परेको छ । कालीगण्डकी नदीले ठूलो क्षति पु-याउने डरले सुरक्षाका लागि विकल्प खोज्न भाैतारिइरहेका छन् । कालीगण्डकी नदीमा आएको बाढीकै कारण बारीबेनी बगरफाँट बाँसखर्क सडक बन्द छ । ग्रामीण सडक नदीले कटान गरेर बगाएपछि अहिले त्यस क्षेत्रका बासिन्दाहरूलाई पैदलबाट त आवतजावत गर्नसमेत कठिनाइ भएको छ ।

बाढी पहिरोबाट भएको क्षतिको स्थलगत अनुगमन पश्चात् जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जोखिममा रहेका स्थानीयबासीहरूलाई बारीबेनी बजार संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

‘गाउँपालिकाको बजेटले केही गर्न सकिने अवस्था छैन,’ जलजला गाउँँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले भने राज्यको ध्यान नपुगे बारीबेनी बजार कालीगण्डकी नदीमा मिसिने जोखिम भएको बताए । बारीबेनीका झन्डै एक सय घर अहिले कालीगण्डकी नदी कटानको जोखिममा रहेका छन् ।

जोखिम मोलेर दाउरा छोप्दै
कालीगण्डकीमा बाढी आएको समयमा बालबालिकाले जोखिम मोलेर दाउरा छोपिरहेका छन् । बालबालिकाले पौडी खेलेर कालीगण्डकी नदीमा बगाएर ल्याएका मुढा र दाउरा छोपिरहेका छन् । यसरी जोखिम मोलेर संकलन गरेको काठ, दाउरा, मुढा बिक्री गरेर आम्दानी गर्छन् । दाउरालाई भारी एवं काम लाग्ने प्रकारको काठ भेटिएमा क्युफिटअनुसार बजारमा बिक्री गर्दछन् ।नयाँ पत्रिका

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.