क्वेटामा आत्मघाती आक्रमण, ३१ को मृत्यु

    बीबीसी

पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै बेला क्वेटामा भएको विस्फोटमा परि ३१ जनाको मृत्यु भएको छ । भने कयौं घाइते भएका छन् ।

उक्त आक्रमणको जिम्मा चरमपन्थी संगठन दौलत-ए-इस्लामियाले लिएको छ। मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्।

देशका अरू भागमा समेत राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन्। जसमा खैबर पख्तुन प्रान्तमा एक जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

पाकिस्तानमा आज संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख नागरिकहरू मतदाताका रूपमा सूचीकृत छन्।

मतदाताले राष्ट्रिय विधायिका नेसनल एसेम्बलीका २७२ सदस्यलाई प्रत्यक्ष रूपमा छान्नेछन्। तीमध्ये ७० स्थान महिला तथा अल्पसङ्ख्यकहरूका लागि आरक्षित छ।

चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएल–एनलाई टक्कर दिने ठानिएको छ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका शरिफ केही हप्ताअघि जेल चलान गरिएका थिए। चुनावी अभियान हिंसा र सैन्य हस्तक्षेपको आरोपबाट प्रभावित भएको थियो।

खानका विरोधीहरूका अनुसार शक्तिशाली मानिने पाकिस्तानको सेनाले उनलाई सत्तामा ल्याउने योजना बनाएको छ। तर खान र सेना दुवैले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.