को बन्ला नयाँ कानुन मन्त्री ? यस्तो छ २ काे सम्भावना

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीमाथि लाञ्छानायुक्त अभिव्यक्ति दिएकोमा विवादित कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार राजीनामा दिए ।

कानुन मन्त्री तामाङले राजीनामा दिएसँगै केपी ओली सरकारमा नयाँ कानुन मन्त्रीको खोजी सुरु भएको छ । तामाङलाई राजीनामा दिन सल्लाह दिएसँगै प्रधानमन्त्रीले नयाँ कानुन मन्त्री नियुक्तिको तयारी सुरु गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नयाँ मन्त्री सम्भवतस् बुधबार नै नियुक्त हुने संकेत गरेका छन् । कानुन निर्माणको चटारो रहेकाले तत्कालै नयाँ मन्त्री नियुक्ति हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कानुन मन्त्री नियुक्तिका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग मंगलबार साँझ छलफल गरेका छन् । दाहालले तत्कालिन एमालेबाट प्रतिनिधित्व गरेकाले स्वविवेकमा निर्णय गर्न सुझाव दिएको बताइएको छ ।

एमालेमा हुँदा नेपाल समूहमा रहेका तामाङको राजीनामासँगै अब सरकारमा उनीपक्षीय लालबाबु पण्डितमात्रै रहेका छन् । नेपालले नयाँ मन्त्री आफ्नै सिफारिसमा हुनुपर्ने दाबी गरेका छन् । तर, नाम भने दिएका छैनन् ।

कानुन मन्त्रीका लागि ओलीको रोजाइमा भानुभक्त ढकाल परेका छन् । तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संसदमा निर्वाचित भएका थिए । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेका ढकाललाई मन्त्री बनाउन एमालेमा कानुन क्षेत्रमा ‘होल्ड’ गर्दै आएका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले लबिइङ गरेका छन् ।

ओलीले आफ्नो समूहबाट मन्त्री बनाउन बाँकी सिनियर नेतामा ५७ वर्षीय ढकालमात्रै बाँकी छन् । तत्कालिन एमालेको पकड क्षेत्रमा लगेर प्रत्यक्ष चुनाव जिताएका ओलीले उनको जीवनभर साथ दिएका ढकाललाई मन्त्री बनाउनैपर्ने दबाब छ । दोस्रो संविधानसभामा समानुपातिक सांसद भएका ढकाललाई अन्तिमतिर ओलीले प्रमुख सचेतक बनाएका थिए ।

नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि ढकालसँगै कृष्णभक्त पोखरेल मन्त्रीमा दाबेदार छन् । ४९ वर्षीय पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

माधव नेपालले कानुन मन्त्री आफ्नै समूहबाट हुनुपर्ने अडान राखे पोखरेल हुने सम्भावना बढी छ । कानुन विषयमा नै स्नातक गरेका पोखरेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको संयोजक थिए । उनी दोस्रोपटक संसदमा प्रतिनिधित्व गरिरहेका छन् । पोखरेललाई मन्त्री बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालको पनि बलियो आड छ । दाहाललाई चितवनबाट जिताउन पोखरेलले नै प्रमुम भूमिका खेलेका थिए ।

कतिपयले भानुभक्तलाई मन्त्री बनाउँदा फेरि पनि विवादित हुन सक्ने अनुमान गरेका छन् । रुखो बोली भएका ढकालले कुनै पनि बेला विवादमा फसाउन सक्ने सुझाव प्रधानमन्त्रीलाई दिइसकिएको छ ।

तर, मन्त्रीकोलागी योगेश भट्टराई पनि आशा गरेर बसेका छन् । योगेशलाई पहिलो चरणमा नै मन्त्री बनाउने हल्ला चलेको भएपनि शीर्ष नेताहरुलाई पाखामा राख्नु पर्छ भन्ने आशयको अभिब्यक्ति दिएपछि उनको नाम काटिएको थियो ।

सवै हिसावमा दक्ष योगेशले लविङ गरेको खण्डमा उनै मन्त्री हुने पनि एकथरीको विश्लेषण रहेको छ । तर, कानुनी विषय प्राविधिक भएको हुनाले योगेश आफैंले आँट नगर्ने बुझिन्छ । यद्यपि मन्त्रीकोलागिआश गरेर बसेका केही नेताहरुले सक्रियता सुरु गरेका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.