कालिकोटमा योङ रेड फोर्सका वीरबहादुर शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी (विज्ञप्तिसहित)

योङ रेड फोर्स (वाईआरएफ)का सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो ।

कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारिएको थियो । शाहीको हत्यापछि लासलाई पानी जमेको ठाउँमा भिरबाट लास खसालिएको अवस्थामा शव भेटिएको बताइएको छ । योङ रेड फोर्स नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन हो । हत्या गरिएका शाही आईआरएफ कालिकोट जिल्ला सदस्य हुन् ।

हत्या गरिएका शाही योङ रेड फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीका भाई हुन् । योङ रेड फोर्स कालिकोट जिल्ला समितिले आइतबार एक विज्ञिप्त जारी गरेर हत्याको घोर भत्सना गरेको छ । समितिका अध्यक्ष शितलकुमार विष्टद्वारा जारी विज्ञिप्तमा शाहीको अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ । साथै अध्यक्ष विष्टले घटनाको .निस्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

देशभर हत्या, हिंसा, बलात्कार र गुण्डागर्दीमा भइरहेको वृद्धि घटनालाई संगठनलाई गम्भीर बनाएको जनाउँदै नागरिकको जीवनको सुरक्षास्थितिमा गम्भीर चुनौति पैदा भएको जनाएको छ । पीडित पक्षलाई न्याय दिन र हत्यारालाई कारवाही गर्न संगठनको जिल्ला समितिले जोडदार माग गरेको छ । सरकारले शाहीको हत्यारालाई नियन्त्रणमा लिई कारवाही नगरे संगठनले नै कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

राज्य जनताको सुरक्षा गर्नामा सरकार उदासिन मात्र नभई असफलसिद्ध भइसकेको भन्दै त्यसको जिम्मेवारी लिन संगठन तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘पीडित पक्षलाई न्याय दिन नसकेको र जनताको असुरक्षा बढ्दै गएकोले यसको पूर्ण जिम्मेवारीका लागि हाम्रो युवा संगठन तयार रहनुपर्ने आवश्यकता महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘पीडितलाई उचित न्याय र जनताको भरपर्दो सुरक्षाका लागि जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्नाका लागि संगठन प्रतिवद्ध रहेको समेत जानकारी गराइन्छ ।’

हत्यापछि प्रहरीले नै वीरबहादुर शाहीको शव आफन्तलाई उठाउन लगाएर प्रमाण नष्ट गराइएको र घटनालाई ढोकछोप गर्न खोजेको भन्दै मृतकका आफन्तले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । हत्यामा संलग्न रहेको आशंका प्रहरीले ३ जना स्थानीय युवाहरुलाई पक्राउ गरेको जनाइएको छ । मृतकको शरीर र टाउकोमा गम्भीर चोट लागेको भन्दै घटनाको स्वतन्त्र र निष्पक्ष तरिकाले छानबिन गर्नुपर्ने माग आफन्तहरुले गरेका छन् ।

स्मरणीय विषय के छ भने गतवर्ष यही समयमा मृतकका दाई योङ फोर्सका केन्द्रीय सदस्य दाइ सत्यबहादुर शाहीमाथि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो । त्यसबेला उनी मुश्किलले बचेका थिए ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.