कांग्रेसमा उमेरहदको कुरा उठ्दै : पदाधिकारीका लागि ७० वर्षको मापदण्ड बनाउन सुझाब

नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् । विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।

‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’

सबै नेता निर्वाचित हुनुपर्ने सुझाब

जहाँ भोटर लिस्ट हुन्छ, त्यहीँबाट क्रियाशील हुने विषय केन्द्रीय नेताहरूका लागि पनि बाध्यकारी बनाउनुपर्ने सुझाब पनि कांग्रेस विधानमा आएको छ । साथै, केन्द्रीय सदस्य र सांसदहरूले पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै चुनिएर आउनुपर्ने, केन्द्रीय सदस्यमा लड्न पनि चुनिएर आउनुपर्ने सुझाब आएका छन् ।

पाँचै वर्ष पार्टी चलायमान बनाउने

कांग्रेसमा अहिलेसम्म महाविधेशन हुने वर्ष मात्र कमिटीहरूको निर्वाचन हुँदै आएको छ । तर, विधान संशोधन गरी गाउँ–नगरको अधिवेशन पहिलो दुई वर्ष र प्रदेशसम्मको तीनदेखि चार वर्षभित्र गरेपछि महाधिवेशन गरी पार्टीलाई पाँच वर्षसम्म सक्रिय बनाइराख्नुपर्ने सुुझाब पनि आएको नेताहरूले जानकारी दिए ।

मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले मस्यौदामा उत्साहपूर्ण सहभागिता देखिएको जानकारी दिए । ‘हामीले प्रारम्भिक मस्यौदा सबैलाई वितरण गरेर सुझाब लिँदा साथीहरूमा गम्भीरता र उत्साह देखिएको छ,’ लेखकले भने, ‘मुख्यगरी, प्रतिनिधित्व बढाउनुपर्ने र समावेशी बनाउनुपर्नेमा साथीहरूको बढी जोड छ ।’

पदाधिकारी र केन्द्रीय सदस्यमा मिश्रित सुझाब

विधान मस्यौदा समितिले पदाधिकारीको संख्या बढाउँदै १० जना पु-याउने प्रस्ताव गरेको छ । सो प्रस्तावको पहिलो विकल्पमा सभापतिको मात्रै निर्वाचन गर्ने र बाँकी ९ पदाधिकारी मनोनीत गर्ने रहेको छ । दोस्रो विकल्पमा निर्वाचन र मनोनीत नै गरी मिश्रित प्रणाली अपनाउनेछ । प्रदेशहरूमा भइरहेका छलफलमा भने मिश्रित सुझाब आएका छन् । प्रदेश ५ पुगेका नेता लेखकले यी विषयमा मिश्रित प्रतिक्रिया आएको जानकारी दिए ।

‘पदाधिकारी बढाउने र केन्द्रीय सदस्य बढाउने विषयमा मिश्रित प्रतिक्रिया आएका छन्,’ उनले भने । प्रदेश ५ मा सुझाब दिने क्रममा सहभागीहरूले सभापतिलाई मात्रै पदाधिकारी मनोनयनका अधिकार दिन नहुने भन्दै मिश्रित नै ठीक भएको सुझाब दिएका छन् ।

सदस्यमा चारजनाको सिफारिस

क्रियाशील सदस्य बन्न चारजना पूर्वक्रियाशील सदस्य सिफारिस हुनुपर्ने सुझाब पनि आएको ढुंगानाले बताए । ‘क्रियाशील सदस्यताका लागि फर्म भरेका साथीहरूको नामावलीमा स्वीकृत हुनुअघि चारजना क्रियाशील सदस्यले सो व्यक्तिलाई सुझाब दिनुपर्ने विषयलाई समावेश गर्नुपर्ने सुझाब आएका छन्’ समिति सदस्य ढुंगानाले भने ।

के हुन्छन् सुझाब ?

१३ असोजमा सुझाब संकलन सकिनेछ । त्यसपछि संकलित सुझाब पूर्णबहादुर खड्का संयोजक रहेको समितिले अध्ययन गर्नेछ । यसअघि तयार गरिएको प्रारम्भिक मस्यौदामा ती सुझाबलाई समेत समेटेर केन्द्रीय समितिमा प्रस्तुत गरिनेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.