कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन : डा कोइराला संयोजक नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको हो।

गठित समितिमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मङ्गल रावल र डा तीर्थ थापालाई सदस्यमा चयन गरिएको कर्णाली सरकारका पर्यटन मन्त्री नन्दसिह बुढाले जानकारी दिनु भयो ।

बैठकले सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरुपण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने र हिमा गाउँपालिका जुम्लाको केन्द्र विवाद समस्या समाधानार्थ मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेको पर्यटन मन्त्री बुढाले बताए ।

त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रसारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्शसम्बन्धी काम सङ्क्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव पारित भएको मन्त्री बुढाले जानकारी दिए ।

पर्यटन मन्त्री बुढाका अनुसार सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित सङ्गठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भई नआउँदासम्म संलग्न सङ्गठन संरचना र दरबन्दीअनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा, १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २० गते आयोजना गर्ने निर्णयसमेत भएको मन्त्री बुढाले जानकारी दिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.