कर्णालीमा ‘एप्पल टुरिजम’ गर्न जाने ?

गत एक दशकभित्र तपाईंले जुम्लाको स्याउ चाख्नु भएको छ? छ भने ‘अर्गानिक स्याउ’ खानु भएको रहेछ।

२०६४ मा स्थानीय समूहले स्वतस्फुर्त अर्गानिक जिल्ला घोषित गरेपछि २०६६ सालबाट सरकारी तवर मै जुम्ला अर्गानिक क्षेत्र बन्यो। त्यसयताका सबै स्याउ अर्गानिक प्रमाणित हुन्।

अहिलेसम्म चाख्नु भएको छैन भने यसपालि कोशिस गर्ने कि? भदौ-असोज महिना स्याउको सिजन हो। यो बेला जुम्ला-रारा यात्रा गर्ने हो भने आफैं बगैंचा डुल्दै रुखबाट स्याउ टिप्दै खाने अनुभव बटुल्न सकिन्छ। चैत पारेर घुम्न जानु भयो भने स्याउ फूलले ढकमक्क ढाकेका सुन्दर बगैंचा भेटिने छन् – ‘चेरी ब्लोजम’ जस्तो ‘एप्पल ब्लोजम’! अर्थात कर्णालीमा ‘एप्पल टुरिजम’ को प्रचुर सम्भावना छ।

कर्णाली पर्यटन प्रवर्द्धन गर्न ‘एप्पल टुरिजम’ फरक आयामसहित एउटा नौलो र आकर्षक सम्भावना क्षेत्र हुनसक्छ। हाल यसको खास चर्चा नभए पनि भविष्य छ। उपयुक्त ब्रान्डिङ जरुरी छ।

दश वर्षअघि कर्णाली राजमार्ग खुलेपछि यहाँ स्याउ रोप्ने लहर लाग्यो। सुरुवाती वर्षमा रोपिएका बुटा अचेल प्रशस्त फल्न थालिसके। एक घर एक बगैंचाको अभियान छ। नयाँ रोप्ने र फल्ने क्रम बर्सेनि बढ्दो छ। करिब ९० प्रतिशत घरधुरीले स्याउ रोपेका छन्। सानाठूला गरी झन्डै १५ हजार बगैंचामा करिब साढे ४४ लाख बोट रोपिसकिएको छ।

गत वर्ष १० लाख ३५ हजार बिरुवा रोपिए भन्ने सरकारी आँकडा थियो। त्यो साल ३ हजार १५० मेट्रिकटन स्याउ फलेको थियो। यसपाला दोब्बर अर्थात् ६ हजार मेट्रिकटन फल्ने अनुमान छ। गत वर्ष उत्पादनको ६० प्रतिशत बढी जिल्ला बाहिर निर्यात भएको थियो। विभिन्न कारणले करिब एक चौथाई स्याउ खेर जान्छ। पोहोर जुम्लाको बगैंचा मै स्याउको औसत मूल्य ५०-५५ रुपैयाँ प्रतिकिलो थियो। सिजन सकिँदै जाँदा १०० रुपैयाँ सम्म पुग्छ।

जुम्लामा करिब एकदर्जन प्रजातिका स्याउ पाइन्छन्। यसमध्ये करिब दुइतिहाई रेड र गोल्डेन डेलिसियस जातका छन्। अन्यमा जोनाथन, चकलेट, तोरिकुलु, म्यकिन्तोष लगायत। दुई वर्षअघि इटालियन फिजी पनि रोप्न थालिएको छ।

बुटा उमार्ने नर्सरी निकै छन्। बुटाको माग र उत्पादन बढेको छ। हरेक साल हजारौं थान बुटा जिल्ला बाहिर वितरण हुन्छन्। पोहोर कालिकोट, बझाङ, डोटी, डोल्पा, रुकुम, रोल्पा लगायत जिल्लामा निर्यात भएको थियो।

स्थानीयले जुन उत्साहसाथ लगानी गरेका छन्, त्यो गतिशीलता अनुरुप सरकारी प्रयास छैन। अझै वैज्ञानिक ढंगको संरचना, भण्डारण, बजारीकरण र सूचना व्यवस्था छैन। तरकारी बजारचक्र जस्तो स्याउ पनि दलालको ‘ब्यूह’मा फसेको छ। किसानले आफ्नो उत्पादन निकै सस्तोमा बिचौलियालाई बेच्नु परेको छ। हरेक वर्ष सिजन सुरुसँगै बर्खाले भत्काउने राजमार्गको चिन्ता बोकेर स्याउको ‘नाजुक’ व्यापार सुरु हुन्छ। किसान र साना व्यापारीले बेहोर्ने जोखिमलाई सम्बोधन गर्ने प्रभावकारी र दीगो संयन्त्र छैन।

कर्णालीको एकमात्र प्रमुख निर्यातमुखी उत्पादन स्याउ हो। खाद्य पदार्थ, औषधीजन्य उपयोग र सौन्दर्य प्रसाधन सामग्री रुपमा समेत प्रयोग गर्न मिल्ने सम्भावना भए पनि स्याउ पूजाआजा, बिरामी तथा पाहुनाभेट जस्ता गतिविधीमा बढी खपत हुन्छ। त्यसैले जुम्लाका स्याउ व्यापारीले तिजका बेला त्यो ‘एक मौका’ भेट्न दौडधुप गर्नुपर्छ। थोरै केही उद्योग स्याउजन्य पेयपदार्थ र अन्य परिकार उत्पादन गर्न खुलेका छन्।

कर्णाली समृद्धि सपनामा स्याउको अर्थगणितीय योगदान जीडीपीमा सम्भवत अन्य सबैखाले उत्पादन क्षेत्रभन्दा उच्च हुनसक्छ। प्रदेशको विशिष्ट पहिचान दिनसक्ने यो फलबाट प्रतिफल लिन सकिने अनन्त सम्भावना छन्। तर व्यावसायिक उत्पादन र बजारनिम्ति आवश्यक पूर्वाधार र सुविधाको खाँचो टड्कारो छ। बाह्य लगानी आउन सक्ने भरपर्दो क्षेत्र यही हो।

सरकार भूमिका बढाऊ, स्याउमा लगानी गर !!

स्याउ इतिहास र केही रोचक प्रसङ्ग

पर्यटकलाई स्याउ बगैंचा घुमेसँगै त्योसँग जोडिएका इतिहास र अन्य रोचक तथ्यले पनि आकर्षित गर्छ।

‘स्याउ ताईंछुन्, नास्पाति ताईंछुन्, बागबानी फाराम। निको छ क्याS आलोपालो, गाथ छ क्याS आराम।’ देउडा सुरु गर्दा प्रायः गाइने यो टुक्कासँग कर्णालीमा स्याउको आधुनिक इतिहास जोडिएको छ। करिब आधा शताब्दीअघि बि.सं २०२२ सालमा भारत सरकारको सहयोगमा ‘बागबानी फार्म’हरू खुल्न थाले। जुम्ला र हुम्लामा पनि एक-एकवटा फार्म खुले। त्यहाँ बाहिरबाट ल्याइएका फलफूल रोपिए। केही वर्षभित्र स्थानीयले पहिलो चोटी स्याउ, नासपाती लगायत नयाँ फलफूल देखे। अनि देउडा गीतमा यी विम्ब सुरु भए। २०२६ सालबाट प्रकाशित कर्णालीको ‘बेन्नु’ पत्रिकाको पहिलो टुसोमा पहिलोचोटी यो गीत उल्लेख छ।

कर्णाली लगायत हिमाली भेगका जंगलमा परापूर्वकालदेखि पाइने इडिमेल र सुर्खिलोलाई स्याउको रैथाने प्रजाति मानिन्छ। तर उन्नत प्रजातिको स्याउ भने वि.सं. २०१८ मा भारतको हिमाञ्चल प्रदेशबाट भित्रिएको हो। त्यसो त चन्द्रशम्शेर पालामा बि.स. १९९४ मै गोदावरी र छाउनीको नर्सरीमा जापान र इटालीबाट ल्याएका स्याउ लागाइएको थियो। सप्रेनन्। भारतमा चाँहि बि.सं. १९२७ मा कुष्ठरोग नियन्त्रण कार्यक्रममा काम गर्ने अमेरिकी सामुअल इभान स्टोक्सले आफ्नो देशबाट रेड र गोल्डन डेलिसियस जातका बोट ल्याएर सिमलामा रोपेका थिए।

पश्चिमा मिथकअनुसार स्याउ मानव जीवन उत्पत्तिसँग जोडिएको छ। सुन्दर ‘एडेन गार्डेन’मा विचरण गर्ने आदिमानव आदम र इभलाई ईश्वरले ‘नटिप्नु है!’ भनि वर्जित गरेको ‘ज्ञानवृक्षको फल’ स्याउ नै थियो। उनीहरूले त्यो स्याउ नचाखेको भए सायद अहिलेको मानव जाति अस्तित्व मै आउने थिएन कि?

आधुनिक भौतिक विज्ञानको उदय पनि स्याउसँग जोडिएको छ। रुखबाट झरेको स्याउले ३३१ वर्षअघि न्युटनलाई गुरुत्वाकर्षण सिद्धान्त सुझायो। ४१ वर्षअघि स्टिभ जब्सले कम्पनी नाउँ ‘एप्पल’ र ‘एकछेउ टोकिएको स्याउ’ लाई लोगो छाने। गतहप्ता मात्रै एप्पल एक खर्ब डलर सम्पति हुने विश्वकै पहिलो कम्पनी बनेको छ।

अचेलका स्याउ वर्णशंकर गरिएका उन्नत जातका हुन्छन्। यिनका पुर्खा भने हालको कजाखिस्तान र चीनका ठण्डा पहाडतिर भएको पाइन्छ। कजाखिस्तानमा स्याउलाई अल्मा भनिन्छ। हालको राजधानीको पुरानो नाउँ ‘अल्मा आटा’ को अर्थ नै ‘स्याउको पिता’ हो।

करिब सयवटा देशमा स्याउ फल्छ। विश्वव्यापी उत्पादनको झन्डै आधा हिस्सा (४९.३ प्रतिशत) छिमेकी चीनमा फल्छ। पाँच वर्षअघिको आँकडाअनुसार भारत छैटौं ठूलो उत्पादक हो। यसले २.४ प्रतिशत फलाउँछ भने हाम्रो देशले ०.०५ प्रतिशत हिस्सा ओगटेर सन्ताउन्नौं स्थानमा छ।

हाल नेपालका ४५ जिल्लामा स्याउ फल्छ। मुख्यगरी कर्णालीका जिल्ला र मनाङ-मुस्ताङले नै दुईतिहाइ जति उत्पादनको हिस्सा ओगट्छ। व्यवस्थित बजारीकरण अभावमा पर्याप्त वितरण हुन सकेको छैन। स्याउको ठूलो हिस्सा खपत हुने काठमाडौंमा ७८ प्रतिशत स्याउ चीनबाट र २१ प्रतिशत भारतबाट आउँछ। नेपालको आफ्नै स्रोतबाट भने १ प्रतिशतभन्दा कम आपूर्ति हुन्छ। हाम्रो देशको नयाँ संविधान आएको वर्ष अर्थात २०७२ मा २ अर्ब रुपैयाँ बढीको स्याउ आयात गरिएको थियो।

स्याउको बियाँसँग पनि रोचक तथ्य र प्रसंग जोडिएका छन्। यसको बियाँ खान हुन्न भन्ने कतिपयलाई थाहा नहुन सक्छ। स्याउको बियाँ चपाउँदा त्यसमा भएको ‘एमिग्डालिन’ पाचनरस (ईञ्जाइम)सँग मिसिँदा हाइड्रोजन साइनाइड बन्छ। यो एकप्रकारको बिषालु पदार्थ हो। एक किलो बियाँमा ७०० मिलिग्राम बराबर साइनाइड हुन्छ जसले ७० केजी तौल भएका ७ जना मानिस मर्न सक्ने बताइन्छ।

बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म ‘मम’ मा न्याय नमिल्दा आफ्नी छोरीका बलात्कारीलाई बदला लिन एउटी बायोलोजी शिक्षिका आमाले स्याउका बियाँको प्रयोग गर्छिन्। दोस्रो विश्वयुद्ध बेला हिटलरको नाजी पार्टीले विरोधी मार्न बनाएको ग्यास च्याम्बरमा राख्ने ‘जिक्लोन बी’ नामको विषालु पदार्थमा हाइड्रोजन साइनाइड नै मिसाइएको हुन्थ्यो। सन् १९२० ताका यो ग्यास आविस्कार गर्ने जर्मनीका एक यहुदी फित्ज हबेर थिए। सन् १९४२ तिर यही ग्यासको प्रयोग गरी लाखौं यहुदी मारिएको थियो।

तर नडराउनुहोस् ! एउटा स्याउमा ४-५ वटाजति बियाँ हुन्छन्। झुक्किएर केही चपाउँदा पनि केही फरक पर्दैन। तर बियाँसहित लगातार २५-३० दाना स्याउ खाईहाल्नु भयो भने केही भन्न सकिन्न है !

स्याउका बहुआयामिक गुणले ‘एन एप्पल अ डे किप्स डाक्टर अवे’ भन्ने भनाइ नै जन्माएको छ। स्याउमा ‘बी’ कम्प्लेक्स भिटामिनहरू, भिटामिन सि, फाइबर, पोटासियम लगायत तत्व पाइन्छ। स्याउको बोक्रामा एन्टी-अक्सिडेन्ट यौगिक पाइन्छ।

१९६७ देखि १९९४ सम्म (२८ वर्ष) पन्ध्र वर्ष माथिका ९ हजार २०८ जनामाथि एक अध्ययन गरिएको थियो। अध्ययनले निरन्तर स्याउ खानेहरूलाई नखानेको तुलनामा हृदयाघात (स्ट्रोक) कम हुने पाइएको थियो। त्यस्तै क्यान्सर जोखिम पनि कम गराउँछ।

स्याउले रोग प्रतिरक्षा प्रणाली सुधार गर्छ। हरिया बोक्रा हुने स्याउ हाड, दाँत र आँखाका लागि उपयोगी हुन्छ। रातो बोक्रा हुनेले मुटु, स्मरणशक्ति र मृगौलालाई फाइदा पुर्याउँछ। पहेंलो बोक्रा हुने स्याउ मुटु र आखाँको लागि लाभदायक हुन्छ। यसले कोलेस्ट्रोल, मधुमेह, कब्जियत, पेटरोगीलाई फाइदा दिन्छ। स्याउबाट बन्ने साइडर सेवनले मृगौला र पित्तथैली पत्थरी हुनबाट बचाउने पनि प्रमाणित भैसकेको छ।

यसको वातावरणीय फाइदा पनि छ। एक रोपनी जमिनमा लगाएको स्याउ रुखले बर्सेनी करिब २ टन कार्बनडाइअक्साइड वायुमण्डलबाट लिने र एक टन अक्सिजन वायुमण्डलमा छोड्छ। यसैले वातावरणीय सन्तुलनका लागि पनि स्याउ खेती निकै उपयोगी मानिन्छ।

त्यस्तै स्याउ बगैंचा विस्तारले जमिनलाई पनि पुनर्पयोगी बनाउँछ। कर्णालीतिर अचेल खाली डाँडापाखामा स्याउ बगैंचा देखिन थालेका छन्।

पश्चिमा देशतिर स्याउलाई ‘ईश्वरको फल’ उपनामले पनि चिनिन्छ। भारत वर्षका महाकाव्य लेखिने युगमा यदि यो क्षेत्रमा स्याउ फैलिसकेको हुन्थ्यो भने सायद सावरीले श्रीरामलाई सभक्ति बयरसँगै स्याउ भेट दिने थिइन्। सेतोपाटीबाट साभार

(लेखक चौलागाईं कर्णाली प्रदेश, जुम्ला जिल्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँका बासिन्दा हुन्)

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.