आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबाबुले न्यायको आश मरिसकेको बताएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएर फर्केपछि निर्मलाका आमाबाबुले सरकारबाट आश्वासन धेरै पाएको भन्दै अब न्याय चाहिएको बताए । ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू,’ ज्ञापनपत्र बुझाउने क्रममा निर्मलाकी आमा दुर्गादेवीले भनिन् ।

गृहमन्त्रीले भने चिन्ता लिनु नपर्ने भन्दै दोषी पक्राउ पर्ने आश्वासन दिए । ‘हामी अपराधीको धेरै नजिक पुगिसकेका छौँ, चिन्ता लिनुपर्दैन, गृहमन्त्रीका रूपमा अपराधी पक्राउ नपर्दा मलाई पनि धेरै पीडा भइरहेको छ,’ गृहमन्त्री थापाको जवाफ थियो । तर, गृहमन्त्रीको जवाफबाट उनीहरू खुसी हुन सकेनन् । किनकि यस्ता आश्वासन उनीहरूले धेरैपटक पाइसकेका छन् । गृहमन्त्री थापाले एक महिनाअघि नै दुई अभियुक्त पक्राउ परिसकेको भनेर संसद्मा बोलेका थिए । गृहमन्त्रीसँग भेटेर निस्किएपछि गृह मन्त्रालय परिसरमा निर्मलाका बाबु यज्ञराजले भने, ‘आश्वासनको अब विश्वास लाग्न छाडिसक्यो ।’

५१ दिन बित्यो हत्या भएको
निर्मलाको हत्या भएको ५१ दिन भइसकेको छ । प्रहरी अनुसन्धान शून्यमा छ । हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका दिलीपसिंह विष्ट छुटिसकेका छन् । निर्मलाको शव भेटिएको ११ साउनदेखि निरन्तर सरकारलाई दबाब दिइएको छ । तर, सरकारले कसले निर्मलाको हत्या ग¥यो भन्ने जवाफ दिन सकेको छैन । अनुसन्धानमा अलमलिएपछि प्रहरीले सर्वसाधारणको आशंकाको आधारमा तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवकको समेत डिएनए परीक्षण अघि बढाएको छ ।

प्रहरीका अनुसार निर्मलाको गुप्तांगमा वीर्य भेटिएको थियो । यौनांगको बाहिरी भाग, बीचको भाग र भित्री भागमा रहेको वीर्य संकलन गरी डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको थियो । सुरुमा प्रहरीले स्थानीय दिलीपसिंह विष्ट र चक्रदेव बडूको पनि डिएनए परीक्षण गरिएको थियो । तर, डिएनए नमिलेपछि उनीहरू छुटिसकेका छन् । डिएनएबाहेक प्रहरीले अनुसन्धानको अरू बाटो नै भेटेको छैन । १० साउन दिउँसो घटनास्थलको मोबाइल लोकेसन हेरेर अनुसन्धान गरे पनि प्रहरीले केही पत्तो लगाउन सकेको छैन ।

प्रहरी अनुसन्धानमा अर्काे लापरबाही :  घटनास्थलमा किन लगिएन कुकुर ?
शवको प्रकृतिकै आधारमा निर्मलाको बलात्कारपछि हत्या भएको अनुमान गर्न गाह्रो थिएन । यस्तो गम्भीर घटनामा प्रहरीको सुरुवाती अनुसन्धान भने उदेकलाग्दो थियो । प्रहरीले घटनास्थलको सुरक्षामा समेत चासो दिएन । अर्काेतर्फ यस्ता घटनामा प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिने गर्दछ । तर, यो घटनाको अनुसन्धानमा कुकुर नझिकाइनुले प्रहरीको नियतमाथि झन् प्रश्न उठेको छ ।

यदि तालिमप्राप्त कुकुर लगिएको भए अभियुक्त कुन बाटो गएका थिए भन्ने पत्ता लाग्थ्यो । जसले प्रहरीले अनुसन्धानका लागि सहजता हुनसक्थ्यो । तत्कालीन प्रहरी प्रमुख विष्टले अनुसन्धानमा चरम लापरबाही गरेका थिए । पाँच दिनसम्म पनि उनी घटनास्थल नगएको गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिका एक अधिकारीले बताए । प्रहरीले सुरुदेखि नै आफूहरूलाई असहयोग गरेको र घटनास्थलको सुरक्षा गर्नभन्दा इन्सपेक्टर एकेन्द्र खड्काले उल्टो धम्काएको निर्मलाका बुबा यज्ञराज बताउँछन् ।

संसद्मा गृहमन्त्री थापाले भने ‘६ महिनामा मुलुकको शान्ति सुरक्षा राम्रो ’

गृहमन्त्री रामबहादुर थापाले सरकार गठन भएपछिको ६ महिनामा शान्ति सुरक्षा कायम विगतको भन्दा राम्रो भएको दाबी गरेका छन् । विपक्षी दलका सांसदले सरकार गठन भएदेखि हालसम्म बलात्कार, हत्या हिंसाको घटना वृद्धि भएको भन्दै सरकारको आलोचना गरेपछि गृहमन्त्रीले अपराध तथा गुण्डागर्दी नियन्त्रणमा सरकार सफल भइरहेको बताएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा शुक्रबारको बैठकमा गृहमन्त्री थापाले हत्या, हिंसा, बलात्कारको घटनामाथि सरकारले गरिरहेको छानबिनबारे जानकारी गराए । ‘६ महिनाको कालखण्ड सुरक्षाको दृष्टिकोणले सबैभन्दा कालो कालखण्ड हो कि भन्ने गम्भीर विषय उठाउनुभयो । सरकार र गृह मन्त्रालयको निष्कर्ष यो छैन । यस अवधिमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने कुरामा सबैभन्दा राम्रो भएको छ भन्ने निष्कर्ष छ,’ गृहमन्त्रीले भने ।

निर्मला हत्याको गहन  छानबिन भइरहेको छ
गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको छानबिन गर्न गठित समितिका सबै सदस्य तथा उनीहरूका परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएको बताए । छानबिन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा संसद्मा विपक्षी सांसदहरूले प्रश्न गरेपछि गृहमन्त्रीले सुरक्षाको प्रत्याभूति दिलाएपछि उनी समितिमा फर्किएको जानकारी दिए ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयले आमजनमानसमा चिन्ता उत्पन्न गरेको भन्दै गृहमन्त्री थापाले पन्तको हत्याको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सनी खुना र पन्तको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको बताए । ‘मृतकलाई सहिद घोषणा गरिएको छ । घटनाको विस्तृत छानबिन भइरहेको छ,’  उनले भने ।

 

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.