आफ्नो पदीय गरिमाको हेक्का राख्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीको आपत्तिजनक बोलीबारे आपत्ति जनाएको हो ।

आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजन एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रुपमा उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले चेतावनीको शैलीमा जवाफ दिएका थिए ।

गत बुधबार नेपाल टेलिभिजनको एक संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ‘आफूले जवाफ दिए वुद्धिजीवि थला पर्ने’ अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो ।

सो अभिव्यक्तिलाई कांग्रेसले संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्म विरुद्ध भएको जनाएको छ ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई आफ्नो पदीय गरिमा विपरित नबोल्न चेतावनी समेत दिएको छ । यस्तै  बैठकले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको माग गरी बिजुलीका पोलमा टाँसिएका पन्तका तस्बिरहरु च्यातिएको घटनामा पनि आपत्ति जनाएको छ ।

सो घटनालाई कांग्रेसले विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधान प्रदत्त अधिकारमाथिको हस्तक्षेप ठहर गरेको छ ।

निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो भने नेपाली कांग्रेसले यहि मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम गर्ने कांग्रेसले चेतावनी समेत दिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.