आफ्नै ‘मृत्यु दर्ता’ बोकेर ‘इन्साफ’ माग्दै भौंतारिइरहेका यी नागरिक !

 

‘हजुर ! हम बर्बाद भगेलौं, जिन्दे मे मरल ।’ (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको म…) औरही नगरपालिका– ६, खोपी बैरिया, महोत्तरीका ५९ वर्षीय रामसेवक राय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् ।

आफ्नै हातमा आफ्नो ‘मृत्यु दर्ता’ को प्रमाणपत्र बोकेर ‘इन्साफ’ का लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभर्इ अपरिचित मानिस देख्नासाथ पनि आफ्नो बिलौना सुनाउन बिराउँदैनन् ।

‘हजुर, कत्त नई गेली ? सीडीओ साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सब्के कहिक थाइक गेली’ (हजुर, कहाँ गइन ? सीडीओ साब, नेता, नगरप्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकें) । यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भने– ‘मुदा, हम जिन्दा आदमी के मरल प्रमाणपत्र कोई नई सकाइर देलक’ (तैपनि म जिउँदो मान्छेलाई मरेको प्रमाणपत्र दिए तर कसैले पनि सच्याइदिएनन्) ।

किशोरावस्थामै मातृवियोग भएपछि २०४८ मा पत्नीलाई घरमै छाडेर कमाउन भारतको पञ्जाव गएका उनी लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन् । यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उनी पञ्जावतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दबावमा बाबु रामवृक्षले २०६८ जेठ १ मा आफैं ‘सूचक’ भएर रामसेवकको मृत्युदर्ता गर्नुका साथै उनका नाउँको जग्गा नामसारी गरेर बेचेका थिए ।

२०६७ कात्तिक १४ मा रामसेवकको मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षरमा मृत्यु दर्ता प्रमाणपत्रमा बनाइएको छ । आमा कौशिल्यादेवी जीवित छँदै उनले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै वस्तीको ५ कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिएकी थिइन् । करोडौं मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दबाव दिएर बाबुलाई मृत्युदर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताए ।

एक वर्षअघि घर आएको आmूलाई सौतेनी आमा र भाइले नचिनेको बताएपछि रामसेवक बिलखबन्दमा परेका छन् । ‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक’ (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए), आँखाको आँशु पुछ्दै रामसेवकले भने– ‘कि करु ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’ (के गरौं ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु) ।

आफ्नो मृत्युदर्ता बदर गर्न उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि कार्यालयले व्यक्तिगत घटना दर्ता सङ्घीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट मात्रै समस्या निराकरण हुने जनाएको छ । ‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने–गराउने कार्बाहीमा पर्छन्,’ सञ्चारकर्मीको जिज्ञासामा प्रजिअ उमेशकुमार ढकालले भने– ‘यहाँ (जिल्ला) का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ ।’

जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने–गराउनेविरुद्ध जिल्ला अदालतबाट मृत्यु दर्ता खारेजीसँगै जालसाँजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने कानुन व्यवसायीहरुले बताए । पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षत्रीले बताए । यसअघि उक्त नगरपालिका– ६ नम्बर वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेकोे पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ता क्षत्रीले स्पष्ट पारे ।

जिप्रका र कानुन व्यवसायीले कानुनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भने– ‘मन्दिरमा बसेको छु, खाने–पिउने ठेगान छैन, एक वर्षदेखि कयौं ठाउँमा धाइसक्दा पनि इन्साफ नपाएकाले मन मर्दै गएको छ ।’

आफूकहाँ कसैले पनि लिखित वा मौखिक रुपमा यस्तो गुनासो नगरेकाले त्यसबारे केही थाहा नभएको नगरपालिका प्रमुख सुनिलकुमार यादवले बताए । (स्रोत–रासस, चित्र– काल्पनिक स्केच)

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.