आजका पत्रपत्रिकामा प्रकाशन भएका समाचारहरु

कानुनमन्त्रीमा तीनजनाको चर्चा

तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

राष्ट्रसंघमा नेपाली सेनालाई थप अवसर

नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्काे अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो । नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ ।
कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दैै बटालियनको अवसर दिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिब सय सैनिकले अवसर पाउनेछन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

पाँच सहसचिव कामविहीन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् । । केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.